आजको आवश्यकता |CORONA CRISIS|

        

"आगामी  दिनहरुमा सबैले 'कोर्स-करेक्सन' गरेर अगाडि बढेको खण्डमा मात्रै हामीले कोरोना सँगसँगै यो भ्रष्टाचारको भाइरसलाई  पनि परास्त गर्न सक्नेछौँ।"


निन्छ, "मानिसको इमानको पहिचान, संकटमा उसले देखाएको संयमले निर्धारण  गर्दछ।" यसकारण  संकटकालिन अवस्था अवस्य पनि एक महत्वपूर्ण परिक्षा हो, जुन परिक्षाबाट तपाईं-हामी सबै गुज्रिरहेका छौँ । विश्व समुदायलाई आक्रान्त पार्ने गरि आएको कोरोना भाइरसरूपी विपद्ले मानवजातिको अस्तित्वलाई नै चुनौती  दिएको छ। धेरै हैन, मात्र ३ महिनाको फ्ल्यास-ब्याक मा गएर हेरौं, के थियो परिवेश ? सारा विश्व र विश्व-बासी लम्किँदै थियौँ, प्रगतिको द्रुतमार्गमा, अति-द्रुतगतिले। न दाँया, न त बायाँ केवल अगाडि । आफ्नो सीप र दक्षताले भ्याए अनुसार हरकोही आज भन्दा भोलि र भोलि भन्दा पर्सि गर्दै शिक्षा-दीक्षा, धन-सम्पत्ति, जग्गा-जमिन, शक्ति- समर्थन बढाउनमा एकाग्रताका साथ लागिपरेका थियौं। यसैबीच, एक माथि अर्को प्रगतिको तला थप्दै मानवजातिले निर्माण गरेको "विकासको बुर्ज-खलिफा"को जग हल्लाउने गरि प्रकृतिले परिक्षा लिइन्,  विभेदरहित परिक्षा। न व्यक्ति, न जाति, न भुगोल, न इतिहास, न धर्म, न लिङ्ग ; सबैलाई समान आक्रमण । विश्व शक्ति चीन-अमेरिका देखि विश्व मानचित्रमा न्यून  प्रभावकारिता भएका मुलुकसम्म सबैलाई गोठमा कोट्याएको छ, प्रकृतिको यो प्रचण्ड रुपले । मानवजाति यस परिक्षामा उतिर्ण भए-नभएको कुरा त प्रकृतिले नै निर्धारण  गर्नेछिन् तर अब हामीले आत्ममुल्यांकन गर्ने बेला आएको छ। एकपटक  आफू तिर फर्केर हेर्ने बेला आएको छ।   

 यो महविपत्तिको घडीमा कसले कस्तो भुमिका निर्वाह गर्यो? रोग फैलिन नदिन गरिएको विश्व-लकडाउनको बेला आ-आफ्नो  घरमा बसेर सहयोग गर्ने तपाईं-हामी आमनागरिकको भुमिका। औषधाेपचारका लागि अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीको भुमिका ।देशवासीको रक्षार्थ अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र  प्रहरी लगायत सुरक्षा संकायको भुमिका। प्रत्यक्ष आवत-जावत पुर्ण रुपमा बन्द भएपछि सूचनाप्रवाहको माध्यमबाट जनतालाई एक ढिक्कामा बाँध्ने मुख्य भुमिका पाएको देशको चौथो अङ्ग कहलिने संचार माध्यमको भुमिका। देश र जनताको सुनौलो भविष्यको रथलाई समुन्नतिको बाटोमा डाेर्याउनकानिम्ति हामीले मत र विश्वास दिएर सारथी चुनी पठाएका जनप्रतिनिधिको भुमिका। र यी सबैभन्दा माथि हामीलाई 'समृद्ध नेपाल, सुखी नेपाली' को सपना  देखाउने, संकटमोचक बनि सम्पुर्ण  नेपाली को दुख हर्ने प्रतिज्ञा गरेको हाम्रो अभिभावक, हाम्रो सरकारको भुमिका।


    

विपद्का बेला रोगले ग्रशित प्रधानमन्त्रीका आफ्नै आसेपासेहरुबाट राष्ट्रको ढुकुटी लुट्ने काम भयो। नेपाली समाजलाई ऐना देखाउने गरि व्यङ्गयात्मक शैलीमा रचित  'लुट्न सके लुट' बोलको गीतमा सेन्सर लाउने सरकारले त्यो गीतलाई  व्यवहारमा उतारेर ब्रह्मलुट गर्ने मन्त्री-नेता-कर्याकर्तामाथि भने सेन्सर लाउन सकेन। विश्व जगत महामारीमा डुब्दै गर्दा देशको समृद्धिको सपत खाइ उच्च पद ओगटेर बसेका हाम्रा नेताद्वारा स्वास्थ्य सामाग्री खरिद जस्तो अति संवेदनशील कुरामा घोटाला गरियो। यो घटनाले नेपाली जनताको बिश्वासको बलात्कार मात्र होइन अमानवीय व्यवहारको पराकाष्ठा नाघेको एक उत्कृष्ट उदाहरण समेत विश्व समुदाय सामु प्रस्तुत गरेको छ। यससँगै दिउसो ज्याला- मजदुरी गरेर बिहान-बेलुकाको छाक टार्ने मजदुरकालागि घोषणा गरिएको राहत वितरणमा गरिएका घोटालाको त लेखाजोखा गर्न मात्र पनि मुस्किल छ। यो भन्दा पनि अति भयानक दृश्य त के छ भने, जनता कोरोनाको त्रासले 'सेल्फ-क्वारेन्टाइन'मा बस्दा सरकारको पहिलो प्राथमिकता कोरोना विरुद्ध को लडाइँ नभएर अध्ध्यादेश ल्याउने, पार्टी फुटाउने, सांसद जुटाउनेतिर केन्द्रित भएको देखियो। फलस्वरूप नयाँ नेपालको सुनौलो सपना सजाइएको सुनौलो दिन वैशाख ११ मा लोकतन्त्रका महासेनानीहरुप्रति श्रद्धा-सुमन अर्पण गर्दैगर्दा जनताले सरकारको अभिभावकत्व गुमाएको महसुस गरे। चीनको वुहान प्रदेशमा उत्पत्ति भएको भाइरसले विश्वभर तहल्का पिट्न थालेको  महिना दिनपछि ढिलै भएपनि सरकारले यसको जोखिम महसुस  गर्‍यो। लकडाउन गरेर केहि हदसम्म जोखिम  टारेकाे भएपनि यो महब्याधी विरुद्ध लड्न कुनै पूर्वतयारी गरिएन, स्पष्ट योजना र रणनीति बनाएको पनि देखिएन। यति हुँदाहुँदै पनि समयमै गरिएको लकडाउन र प्रकृतिकाे उदारताकाे कारणले होला सायद अहिलेसम्म यो महामारीले अन्य देशमा जस्तो बिकराल रुप हाम्रो  देशमा लिएको छैन। 

         
       



















देश एक ढिक्का भएर कोरोनासँग लड्दै  गर्दा केहि कुराहरू  कोराना भन्दा बढी बिझाएका छन्  नेपाली जनतालाई। राष्ट्रिय- संकटका बेला ढुकुटी रित्त्याएर आफ्नो झोली भर्ने भ्रष्टाचारीहरु बिझाएका छन्। घरमा आमा बितेर महाकालीपारी कोरामा बस्न बाध्य छोरालाई जननिसँगै जन्मभुमिको पनि अवसान भएको  महसुस हुँदा सरकारको रुखो व्यवहार बिझाएको छ। छाक टार्न नसकेर भोको पेट सुतेको मजदुरलाई सरकारको लाचारी बिझाएको छ। देशको सुनौलो भविष्यप्रति आशावादी लाखौं युवालाई आफ्ना अगुवाहरुले दिएको निराशा बिझाएको छ। विश्वका शक्तिशाली राष्ट्रहरुलाई  थला पारेको महामारीले नेपालमा असर देखाएन भन्ने  तर्क गरेर उन्मुक्ति पाउने बाटो रोज्नु भन्दा एक पटक यो महामारी फैलिएको कल्पना गरेर हेरौं किनभने हरेक पटक प्रकृति उदार नहुन सक्छिन। यस्तो महाविपत्ति आइलाग्दा डटेर सामना गर्न सक्ने हैसियत बनाउनतिर केन्द्रित हुन जरुरी छ।
   
यो विपत्तिबाट बाहिर आएपछि थला परेको हाम्रो अर्थतन्त्र, शैक्षिक प्रणाली, सामाजिक व्यवस्था र झ्याप्प ब्रेक लागेको देश विकासको गतिलाई निकास दिन भ्रष्टाचार र भ्रष्टाचारीको पत्तासाफ गर्दै अघि बढ्नुपर्ने चुनौती छ हामी सामु। आगामी दिनहरुमा सबैले 'कोर्स-करेक्सन' गरेर अगाडि बढेको खण्डमा मात्रै हामीले कोरोना सँगसँगै यो भ्रष्टाचारको भाइरसलाई पनि परास्त गर्न सक्नेछौँ। आत्मसमिक्षा गरौं, यो संकटले दिएको सन्देशलाई आत्मसात गरेर पाठ सिखौं। यो नै आजको मुलभुत  आवश्यक्ता हो।

तस्बिर स्रोत : Nayapatrika| Epaper/Kathmandu post





Post a Comment

3 Comments