ग्रेटर नेपाल |GREATER NEPAL|

       
   

पश्चिम किल्ला काँगडा पुर्वमा टिस्टा पुगेथ्यौँ

कुन शक्तिको सामुमा कहिले हामी  झुकेथ्यौँ

            
  
भूगोलसँग मनुष्यको अन्तरक्रिया नै इतिहासको रचईता  हो। पुस्तौं- पुस्ताले गर्व गर्न लायकको इतिहास  बोकेको नेपाली भुमि प्राचीनकालमा एक दुर्गम पहाडी मुलुक थियो जहाँ  गोपाल, महिषपाल, किराँत, लिच्छवि, मल्ल, शाक्य, शाह आदि बंशका शाशकहरु आएर यसलाई आफ्नो कर्मभुमी बनाउनुका साथै यहाँको मौलिक संस्कृति र सभ्यताको विकास गर्न उल्लेख्य योगदान पुर्याए। कथनका आधारमा सदियौं लामो इतिहासको अनुमान लगाइए पनि नेपालको लिखित इतिहास भने करिब दुई हजार वर्ष पुरानो रहेको बताइन्छ। प्राचीन नेपालको स्वरूप वर्तमान जस्तो एकीकृत नभएर स-साना विभाजित राज्यहरूका रुपमा थियो। केवल कान्तिपुर-भक्तपुर - ललितपुरलाई नेपाल भनेर चिनिन्थ्यो। 'सिन्धुमा हराएको बिन्दु' जस्तै गुमनाम मुलुक समयको अन्तरालमा कसरी 'विशाल नेपाल'मा परिणत भयो? वीरहरुको आलो रगतले अर्ज्याएको विशाल नेपालका सिमानाहरु कसरी खुम्चिन पुगे? इशापुर्व १६०० देखि विशाल नेपालको एकीकरण गर्ने गोरखा राज्यको स्थापनासम्मको समयमा कति राज्यको उदय भयो र कतिको पतन? नेपालको भूराजजनितिक अवस्थामा केकस्तो परिवर्तन आयो ? त्यो परिवर्तन माथि संक्षिप्त जानकारी लिनका लागि  एक नजर यो भिडियाे  हेर्नुपर्ने हुन्छ।


लम्जुङका राजा यशोब्रह्म शाहका कान्छा छोरा द्रब्य शाहले वि.सं. १६१६ को विजयालक्ष्मीको दिन लिगलिगकाेटमा आक्रमण गरी गोरखा राज्यको स्थापना गरे। यो राज्य विस्तार भएर पुर्वी सिमाना त्रिशुली नदि र कान्तिपुर राज्य, पश्चिम  सिमाना मर्स्याङ्दी नदि, उत्तर कुकुरघाट भाट प्रदेश र दक्षिणमा तनहुँसम्म फैलियो। गोरखा राज्यको यश र कीर्ति फैलाउन विभिन्न राजाहरुको योगदान रह्यो। विशेषगरी राजा राम शाहले न्याय स्थापित गरेको हुँदा उनको पालामा 'न्याय नपाए गोरखा जानू' भन्ने भनाइ नै प्रचलनमा थियो। यसका साथै वि.सं.  १७७९ मा एकीकरणका नायक राजा पृथ्वीनारायण शाहको जन्म पनि गोरखामा नै हुन पुग्यो। उनको पालामा विभिन्न राज्यहरु विस्तार हुँदै  गण्डकी क्षेत्रमा २४ राज्य, भेरीपारी २२ राज्य, उपत्यका सेरोफेरोमा कान्तिपुर-पाटन- भादगाउँ, पुर्वका विजयपुर-चौदण्डी आदि सेन राज्य र धनकुटा-तेह्रथुम-इलाम आदि लिम्बुवान राज्य गरी ५२ राज्यहरू थिए । वि.सँ १७९९ मा राज्याभिशेकको केही समयमा नै नुवाकोटमाथि विजय प्राप्त गरेर पृथ्वीनारायण शाहले एकीकरणको थालनी गरे। वि.सं.१८०१ को यो विजयसँगै नयाँ नेपालको शिलान्यास भएको मानिन्छ। 


नैतिकता, धर्मप्राणयता, आदर्श, परिश्रम, लगनशीलता र दृढप्रतिज्ञालाई अंगालेका पृथ्वीनारायण शाहकालागी हर विजय संभव थियो। काजी कालू पाण्डे, राजकुमार  दलमर्दन शाहजस्ता क्षमतावान् र विश्वसनीय योद्धाहरुको नेतृत्वमा गोरखा फौँजले आफ्नो सिमाना बढायो। यससँगै विशाल नेपालको अभियान द्रुतगतिले अगाडि बढ्दै गयो। वि.सं. १८२५ मा कान्तिपुर विजय गरेपछि आधुनिक नेपालको सुरुवात भयो। एकता अभियन्ताको अभियान को झलक यो भिडियोमा:




पुर्वी राज्यहरुलाइ नेपालभित्र गाभेर श्री ५ बडामहाराजधिराजले देह त्याग्नुभयो। एकीकरणको महायज्ञ सम्पन्न गर्नका लागि आफ्ना सन्ततिहरुलाइ 'दिव्योपदेश' नामि ज्ञानको संन्जिवनीबुटि दिएर राष्ट्रनिर्माता अमर हुनुभयो। वि. सं. १८३१ आफ्नो जीवनको अन्त्यतिर सिकिस्त बिरामी भएपछि नुवाकोटमा सबै भाइ-भारदारहरुलाइ बोलाइ २/३ दिन सम्म नेपाल को भ भूराजनितिक अवस्था, सामाजिक जिवन, प्रतिरक्षा र विकासका सन्दर्भमा बिस्तारसहित बताएको भनाइ छ। तिनै उपदेशहरुलाई  दिव्योपदेश भनिन्छ।



पिताको देहावसान पश्चात् राजा बनेका प्रतापसिंह शाहले भने बुवाको एकीकरणको सपनालाई पुरा गर्न नसकेका कारण योग्य बाबुका अयोग्य छोरा भनेर चिनिएका थिए। त्यसको बिपरित भाइ बहादुर शाहले काका दलमर्दन शाहसँग मिलेर शासन सत्ता हत्त्याउन लागेको थाहा पाएपछि दुबै लाई नजरबन्द गराए र पछि देश निकाला गरे। पृथ्वीनारायण  शाहको अभियानलाई निरन्तरता दिए उनकि बुहारी  राजेन्द्रलक्ष्मी(प्रतापकि पत्नी) र देश निकाला गरिएका कान्छा छोरा बहादुर शाहले।  पति प्रतापसिंह शाहको अल्पायुमै मृत्यु भएपछि नाबालक छोरा रणबहादुर शाहको नायबी  बनेर राजेन्द्रलक्ष्मीले शासन गरिन। अहिलेसम्म महिला हक र योग्यताको  वकालत हुने देशमा आज भन्दा करिब २४० वर्ष अगाडि नै हकको प्रयोग गर्दै आफ्नो योग्यता सिद्ध गरेर रानी राजेन्द्रलक्ष्मीले नायवी शासन चलाएकी थिइन्। उनकै नेतृत्व र निर्देशनमा रहेर नेपाली सेनाले चौबीसे राज्यको संयुक्त आक्रमणलाई विफल पारी नेपालको सिमाना पश्चिममा कालीगण्डकी नदिसम्म पुर्याएको थियो। वि.सं.१८४२ मा क्षयरोगका कारण उनको मृत्युु भयो। नेपालको इतिहासमा उनलाई वीराङ्गनाका रूपमा चिनिन्छ। रानी राजेन्द्रलक्ष्मीको मृत्युुपछि बहादुर शाहले स्वदेश फर्केर भतिज रणबहादुर शाहको नायब भएर शासन गरे। उनको नेतृत्वमा पनि नेपालको सिमाना फैलिएको थियो। वि.सं.१८५३ मा उनलाई  राज्यकोषको दुरुपयोग गरेको आरोपमा बन्दी बनाइ बन्दीगृहमै हत्या भएको बताइन्छ।


राजेन्द्रलक्ष्मी, बहादुर शाह, भिमसेन थापा, बडाकाजी अमरसिंह थापा, रणवीरसिंह थापा, वलभद्र कुँवर, भक्ति थापा, उजिरसिंह थापा लगायत कैंयौ योद्धाको परिश्रमका कारण नेपालको सिमाना पुर्वमा टिस्टादेखि पश्चिममा सत्लज नदिसम्म फैलिएर विशाल नेपालको स्वरुप तयार भयो। वि.सं १८७०को अंग्रेज आक्रमणसम्म   २,५२,१८१ वर्ग कि.मि.को ग्रेटर नेपाल कायम रह्यो।
नेपाल- अंग्रेज युद्ध :
तत्कालीन इष्ट- इन्डिया कम्पनीले नेपालले पुर्वका १२२ गाउँ र बुटवल-स्युराज क्षेत्रमा आफ्नो अधिकार त्याग गर्नु पर्ने अन्यथा आफुहरुको अधिकार कायम हुने भनी वि.सं. १८७० को फागुनमा पत्र पठाएको थियो। त्यसको जवाफ पठाउन नपाउदै वि.सं. १८७१ बैशाख १० मा बुटवल क्षेत्र कब्जा गर्यो। कब्जा गरेर बसेको कम्पनीलाई  आक्रमण गरेर गतिलो जवाफ दिंदै पाल्पामा तैनाथ सानाकजी अमरसिंह थापाले पुनः नेपालको अधिकार कायम गराएका थिए । युद्धमा नेपालका कमान्डरहरुले विभिन्न मोर्चा सम्हालेका थिए।


मकवानपुर र सिन्धुली गढीमा : रणवीरसिंह थापा
रणवीर सिंह थापाले आफ्नो बुद्धि, ज्ञान र सैन्य पराक्रमले अंग्रेज़ विरुद्धको युद्धमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए। युद्धपछि वि.सं. १८७४ मा चिनका लागि राजदूत भइ ५ वर्ष काम गर्दा नेपाल-चिन सम्बन्धमा उल्लेख्य सुधार गरे। दरबारसंग सतर्कता अपनाउनु पर्नेमा "सक्छौ जागीर नखाउ, सक्दैनौं  जागीर खाउ, तर झण्डामुनि बस दरबार नपस" भन्ने उनको भनाइ चर्चित थियो।

जितगढीमा (बुटवल) : उजिरसिंह थापा  
जितगढीमा उजिरसिंहको नेतृत्वको नेपाली सेनाले अदम्य शाहसको प्रदर्शन गरेको थियो।

नालापानीमा(महाकालीपारी): बलभद्र कुँवर
नालापानीको युद्धमा नेपालका तर्फबाट बलभद्र कुँवर कमान्डर थिए। उनको नेतृत्वमा ५५० नेपाली सैनिक थिए भने अंग्रेज़ तर्फ अत्त्याधुनिक हतियार सहित ३५०० सैनिक थिए। अंग्रेजले किल्लाभित्र जाने पानीको मुहान थुनिदिएपछी बचेका ७० नेपाली नाङ्गो खुकुरी लिएर किल्ला बाहिर निस्केका थिए। नालापानीमा बलभद्रको बिरताको प्रसंशा गर्दै अंग्रेजहरुले "हाम्रा वीर शत्रु बलभद्र कुँवर र उनका वीर गोर्खालीको स्मृतिमा सम्मानोपहार" भन्ने शिलालेख स्थापना गरेका थिए। उनी लाहोर पुगि पन्जाब सेनामा सरदार भई  अफगान विरुद्धको युद्धमा बिरगती प्राप्त गरेका थिए।

जैथक (महाकालीपारी): रणोजिरसिँह थापा
जैथक युद्धमा रणोजिरसिंह  थापाको नेतृत्वमा रहेको नेपाली सेनाले अंग्रेजलाई पराजित गरेको थियो

मलाउँ/ देउथल (सुदुरपश्चिम): बडाकाजी अमरसिंह  थापा र सरदार भक्ति थापा:
मलाउँ युद्धमा नेतृत्व गरिरहेका अमरसिंहलाई अंग्रेज़ले प्रलोभन देखाएर आफूतिर मिलाउने प्रयास गर्दा "म बाघको डमरू हुँ, सिनो खाने स्याल नसम्झ" भन्ने उनको भनाइ प्रख्यात छ।देउथल किल्लाको युद्धमा नेपालका तर्फबाट ७३ वर्षका भक्ती थापाले नेतृत्व गरेका थिए र अंग्रेजहरुको तोप लागि विरगती प्राप्त गरे। बहुमुल्य दोसल्ला ओढाइ अंग्रेज़हरुले उनको सम्मन गरेका थिए।
सुगौली सन्धि:
युद्धको परिणाम स्वरूप नेपाल आत्मघाती सन्धि गर्न बाध्य भएको थियो जसमा ५०% भुभाग गुम्न पुग्यो। २८ नोभेम्बर १८१५(सन् ) मा नेपालका तर्फबाट राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय र इष्ट ईन्डिया कम्पनीका तर्फबाट लेफ्टिनेन्ट जनरल जिरिस ब्राड शाँ सुगौली सन्धिमा हस्ताक्षर गरेका थिए भने यो सन्धी ४ मार्च १८१६(सन् ) बाट अनुमोदन र कार्यन्वयन भएको थियो।



गुमेका भुभाग:
कुमाउँ, गडवाल (वर्तमान उत्तराखण्ड)
शतलज नदिको पश्चिमका क्षेत्र काँगडा( वर्तमान हिमान्चल प्रदेश )
तराईका क्षेत्र ( २२गाउँ ,बरेली आदि)

सन् १८५७ मा भारतमा भएको सिपाही बिद्रोह दबाउन नेपालले गरेको योगदानको कदर गर्दै सन् १८६५ जङ्ग बहादुर राणाको पालामा नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली, कंचनपुर) फिर्ता पाएको थियो।
सुगौली सन्धिका अनुसार पुर्वमा मेचीदेखि पश्चिममा महाकाली नदिसम्म नेपालको सिमाना रहने तय भयो। अंग्रेज विरुद्धको युद्धमा नेपाली वीरहरुको देखाएको विरताको गाथा समस्त विश्वले गाएता पनि हाम्रो भुभाग भने खुम्चिन पुग्यो। आत्मघाती सन्धि गरि गुमेको जमिनको माया मारेर नेपाल सानो सुन्दर र शान्त हिमाली देशका रुपमा रहिरहेका बेला हाम्रो सबैभन्दा नजिकको मित्रराष्ट्रले विभिन्न ठाँउमा सिमा अतिक्रमण गरेर चिढ्याउनुको के अर्थ लगाउन सकिन्छ? कहिले सुस्ता, कहिले कालापानी- सिमा  विवाद किन बल्झिन्छ? वि.सं. १८७२ को सुगौली सन्धिमा टुङ्गिएकाे सिमा बिस्तार वि.सं. २०७७ सम्म आइपुग्दा पनि लिपुलेक र लिम्पियाधुरा अनि कालापानीको निउमा कसरी परवान चड्दै छ?जान्नकालागि घटनाक्रमको ब्याख्या सहित हेर्नुहाेस् सीमा संकट: स्वाभिमानको लडाइँ

स्रोत : History of Nepal
Wikipedia

Post a Comment

2 Comments